काठमाडौँ, वैशाख १० गते । पूर्वस्वास्थ्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा ओपीडी सेवा नखुम्च्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पछिल्लो समय सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीले सास्ती भोग्न थालेकोले बिरामीको सास्ती हटाउन सरकारसँग आग्रह गर्नुभएको हो ।
ओपीडी सेवा प्रभावित हुँदा सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको र बिरामीलाई आर्थिक बोझ थपिदिएको भन्दै पूर्वस्वास्थ्यमन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत् लेख्नुभएको छ, ‘सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको छ ।’
नेपाली काङ्ग्रेसका महामन्त्री पौडेलले लेख्नुभएको छ, ‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित गर्ने होइन, यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक छ ।’
पूर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका पौडेलले विगतमा आफू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमासमेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको स्मरण गराउँदै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत् आमनागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराई निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेरमात्रै समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिने सुझाव दिनुभयो ।
नेता पौडेलले हिजोका दिनमा सुरु भएका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसँग अनुरोध गर्नुभएको छ ।







