काठमाडौँ, वैशाख १० गते । जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका सुकुमवासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिनुभएको निर्देशनप्रति विरोध व्यक्त गर्नुभएको छ । जेनजी अगुवा बमले प्रधानमन्त्रीको सुकुमवासी बस्तीहरू खाली गर्ने निर्देशन ‘अपरिपक्वता’र जनताप्रतिको राजनीतिक बेइमानी भएको टिप्पणी गर्नुभएको हो ।

जेनजी अगुवा बमले प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुलाई सुकुमवासी बस्ती खाली गर्न दिएको निर्देशनलाई विरोध जनाउँदै रास्वपाको बाचा पत्र पढ्न पनि सुझाव दिनुभएको छ । बमले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख्नुभएको छ, ‘बालेन, तपाईंले जानेकै यत्ति हो ? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिङ्गो रास्वपाको राजनीतिक बेइमानी हो ।’

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका बखत झापाको सुकुमवासी समस्या एक हजार दिनमा समाधान गर्ने वाचापत्र सार्वजनिक गर्नुभएका रास्वपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री बनेको २६ दिनमै सबै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती हटाउने कामको सुरुवात काठमाडौँ उपत्यकाबाटै गर्न निर्देशन दिनु कत्तिको उपयुक्त होला ?