कञ्चनपुर, वैशाख २ गते । ‘पढेपछि के गर्ने ?’ भन्ने अन्यौलता हटाउँदै रोजगारीसँग प्रत्यक्ष जोडिएको प्राविधिक शिक्षाले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई विद्यार्थीको रोजाइको केन्द्र बनाएको छ । देशभरका धेरै विद्यालयमा प्राविधिक धारतर्फ विद्यार्थी अभाव देखिँदा यहाँ भने बालिविज्ञान (प्रि–डिप्लोमा/जेटिए) पढ्ने विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढेको छ । आधुनिक कृषिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमले एक दशकमा राम्रो परिणाम देखाएको छ । विद्यालयमा प्राविधिक शिक्षा पढनका लागि कञ्चनपुर, कैलालीसँगै डडेल्धुरा र बैतडीजस्ता पहाडी जिल्लाबाट विद्यार्थी यहाँ आउने गरेका छन् । चालु शैक्षिक सत्रमा ४० जनाको कोटामा २६ विद्यार्थी अध्ययनरत छन्, जसमा छात्राको सङ्ख्या बढी छ ।

विद्यालयका प्रधानाध्यापक धनसिंह महराका अनुसार विद्यार्थी आकर्षणको मुख्य आधार प्रयोगात्मक शिक्षा र रोजगारीको सुनिश्चितता रहेको छ । “विद्यार्थीलाई केवल पढाएर सैद्धान्तिक ज्ञान मात्र दिने होइन, काम गर्न सक्ने दक्ष जनशक्ति बनाउने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो ।

विद्यालयमा तीन दक्ष प्राविधिक शिक्षकद्वारा विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षामा सहभागी गराई पठनपाठन गरिँदै आएको छ । “कृषि प्रयोगशाला, पर्याप्त जग्गा, आधुनिक उपकरण र यन्त्रको प्रयोगमार्फत विद्यार्थीलाई खेतमै लगेर सिकाउने व्यवस्था गरिएको छ”, प्रधानाध्यापक महराले भन्नुभयो, “बीउ छनोटदेखि सिँचाइ, मल व्यवस्थापन र रोग–कीरा नियन्त्रणसम्मका सीप व्यवहारिक रूपमा सिकाउने गरिएको छ ।”

शिक्षक अभिषेक चन्दका अनुसार विद्यार्थीलाई परम्परागत र आधुनिक खेतीबीचको उत्पादन अन्तर प्रत्यक्ष देखाउने गरिन्छ । “यसले विद्यार्थीलाई रैथाने प्रजातीको संरक्षणमा टेवा पु¥याउन र आधुनिक प्रविधिको प्रयोग बढाउन प्रेरित गर्छ र उत्पादन बढाउन सक्षम बनाउँछ”, उहाँले भन्नुभयो ।

विद्यालयले ‘सिक्दै कमाउँदै’ अवधारणालाई पनि आत्मसात् गरेको छ । विद्यार्थीले उत्पादन गरेको तरकारी र माछा बिक्रीबाट अतिरिक्त आम्दानी हुने गरेको छ । यसले सिकाइलाई व्यवहारिक र दिगो बनाएको शिक्षक चन्दको भनाइ छ ।

“आधुनिक यन्त्र पावर टिलर, मिनी टिलर, कृषि औजार, उपकरण, मल्चिङ प्रविधि, प्लाष्टिक टनेलको प्रयोग गरेर खेती गर्दा हुने फाइदाबारे विद्यार्थीले प्रत्यक्ष अनुभव लिन पाएका छन्”, उहाँले भन्नुभयो, “योसँगै खेतमा तयार भएको तरकारीदेखि अन्नबाली भण्डारण गर्ने तौरतरिका र बजार प्रवद्र्धन गर्नेबारे जानकारी दिने गरिएको छ ।”

टाढाबाट आउने विद्यार्थीका लागि विद्यालय परिसरमै निःशुल्क छात्रावासको व्यवस्था गरिएको छ । यसले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राविधिक शिक्षा लिन सहज बनाएको छ । विगत एक दशकमा विद्यालयमा अध्ययनरत करिब १५० भन्दा बढी विद्यार्थीले बालिविज्ञान विषय उत्तीर्ण गरेका छन् । तीमध्ये अधिकांश एग्रोभेट सञ्चालन, व्यावसायिक खेती तथा मत्स्यपालनमार्फत स्वरोजगार भएका छन्, भने केही विद्यार्थी सरकारी सेवामा प्रवेश गरेका छन् ।