रुपन्देही, चैत ९ गते । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत १३ र १४ मा धम्मयात्रा हुने र यात्रामा ५०० नवप्रव्रजित सामणेर तथा भिक्षुको सहभागिता रहने जानकारी दिइयो ।

अखिल नेपाल भिक्षु महासङ्घ र धम्मकाय फाउन्डेसनको सहयोगमा सञ्चालन हुने कार्यक्रममा थाइ धर्मदूत इन्डिया–नेपाल, बौद्ध समाज नेपालसहित करिब २० वटा संस्थाको सहकार्य रहने बौद्ध समाज नेपालका अध्यक्ष शङ्कर गाहाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चैत १३ गते बिहान ७:०० बजे देवदह र बुटवलबाट धम्मयात्रा सुरु हुनेछ । यात्रा देवदह बुद्ध विहारबाट सुरु भई पूर्वपश्चिम राजमार्ग हुँदै विभिन्न स्थान पार गर्दै सेमहानासम्म पुग्नेछ भने बुटवलमा उपमहानगरपालिका कार्यालय परिसरबाट सुरु भई अमरपथ, बिपी चोक हुँदै थकाली सेवा समाज भवनसम्म यात्रा गरिनेछ ।

सोही दिन अपराह्न ३:०० बजे लुम्बिनीमा धम्मयात्रा आयोजना गरिनेछ । गेट नं ४ बाट सुरु हुने यात्रा बुद्ध जन्मस्थल क्षेत्र, शान्तिदीप हुँदै अन्तरराष्ट्रिय बौद्धसभा तथा ध्यान केन्द्रसम्म पुग्ने कार्यक्रम छ । चैत १४ गते भैरहवामा दिउँसो २ः०० बजे सिद्धार्थ रङ्गशालाबाट सुरु हुने धम्मयात्रा देवकोटा चोक र बुद्ध चोक हुँदै लुम्बिनी गेटमा पुगेर समापन हुनेछ । सोही स्थानमा अपराह्न ४:०० बजे मुख्य कार्यक्रम आयोजना गरिनेछ ।

आयोजकका अनुसार गौतम बुद्धले बुद्धत्व प्राप्तिपछि राजगृहबाट २० हजार भिक्षुसहित कपिलवस्तुसम्म गरेको ऐतिहासिक पदयात्राको स्मरणमा धम्मयात्रा आयोजना गरिएको हो । उक्त पदयात्रालाई विश्वकै पहिलो आन्तरिक शान्ति पदयात्राका रूपमा समेत लिने गरिन्छ ।

यसअघि लुम्बिनीमा सम्पन्न अल्पकालीन कुलपुत्र प्रव्रज्या कार्यक्रममा ५०० जनालाई प्रव्रज्या प्रदान गरिएको थियो । प्रव्रज्या ग्रहण गरेपछि सामणेर अर्थात् अल्पकालीन भिक्षु बन्ने गरेका छन् । भन्ते थावरका अनुसार सामणेर र भिक्षुले धम्मयात्रा गर्दा धर्मचक्षु पलाउने, करुणा र मैत्रीभाव विकास हुने विश्वास गरिएको छ ।

अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर धारण गरी बुद्ध धर्मका १० वटा शील पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशील पालना गर्ने भए पनि सामणेरहरूले करिब २० दिनसम्म पूर्ण रूपमा अनुशासित जीवनशैली अपनाउनुपर्ने हुन्छ । पूर्ण भिक्षु बन्नका लागि भने २२७ नियम पालना गर्नुपर्ने व्यवस्था रहेको छ ।

‘धम्म’ र ‘यात्रा’ शब्द मिलेर बनेको धम्मयात्राको अर्थ ‘कुशल कर्मतर्फ उन्मुख यात्रा’ भन्ने रहेको छ । यस्तो यात्राले धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा सहिष्णुता, समानता र अनुशासनको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । आयोजकहरूले यस कार्यक्रममार्फत बौद्ध धर्मको संरक्षण तथा प्रवर्द्धनका साथै धार्मिक पर्यटनमा समेत टेवा पुग्ने विश्वास गरेका छन् ।