काठमाडौँ, चैत २ गते । भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नै आमा सम्बोधन गर्ने प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै छोराको आदर्शमाथि नै कुठाराघात गर्नुभएको छ । मुलुकमा व्याप्त विकृति अन्त्य गर्दै सुशासन कायम गर्ने महत्वपूर्ण नाराले उदाएको रास्वपाले २१ फागुनको निर्वाचनमा झण्डै दुई तिहाइ नजिकको परिणाम ल्यायो ।
सोहीअनुसार अब रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० मुलुकको आशालाग्दो प्रधानमन्त्रीका रूपमा शासन सत्ता सञ्चालन गर्दै हुनुहुन्छ तर बालेनले आमा भन्दै सम्बोधन र सम्मान गर्ने हालकी प्रधानमन्त्री सुशीला कार्कीले भने जाँदाजाँदै आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई परम्पराविपरीत राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेपछि राजनीतिक र प्रशासनिक वृत्तमा उहाँमाथि गम्भीर प्रश्न उठेको हो ।
यसै गरी प्रधानमन्त्री कार्कीले नयाँ सरकारको क्षेत्राधिकारलाई नै अतिक्रमण गर्ने गरी राष्ट्रियसभाको सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्दै अर्को विवादास्पद काम गर्नुभएको छ । सामान्यतया यस्ता निर्णयहरू चुनाव सकिएलगत्तै आउने नयाँ सरकारले गर्नुपर्ने मान्यता छ । सो मान्यतालाई समेत प्रधानमन्त्री कार्कीले लत्याउनुभएको छ । यससँगै गृहमन्त्री अर्याल पनि लोभी र स्वार्थी मन्त्रीका रूपमा रूपान्तरण हुनुभएको छ । उहाँले आफूहरूले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र अब आफू राजनीतिभन्दा पनि पुरानै वकिल व्यवसायमा फर्कने बताउँदै आउनुभएको थियो । तर, उहाँ एकाएक आइतबार सांसदमा सिफारिस हुनुभएको हो । मन्त्रिपरिषद्ले आफंैलाई सांसदमा नियुक्तिका लागि गरेको सिफारिससम्बन्धी निर्णय उहाँ आफैंले पढ्नुभएको थियो ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै प्रशंसा कमाउँदै आउनुभएकी प्रधानमन्त्री कार्की जाँदाजाँदै यस प्रकारका विवादास्पद निर्णयका कारण नराम्ररी चुक्नुभएको हो । कार्की नेतृत्वको सकारको आइतबार अन्तिम मन्त्रिपरिषद् बैठक बसेको थियो । सोही अन्तिम बैठकमा नै कार्कीले आलोचित हुने गरी स्वार्थपरक निर्णय गर्नुभएको हो ।
सर्वोच्च अदालतमा सुब्बा स्तरका कम्प्युटर अपरेटर रहेका श्रेष्ठलाई प्रधानमन्त्रीले कोषको अध्यक्ष बनाउने निर्णय गरेपछि यसलाई सुशासन र योग्यतामाथिको प्रश्नका रूपमा हेरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पद सामान्यतः वन तथा वातावरण मन्त्रीले सम्हाल्ने परम्परा रहँदै आएको छ । तर, प्रधानमन्त्री कार्कीले उक्त परम्परालाई तोड्दै आफ्नै स्वकीय सचिवलाई नियुक्त गरेपछि निर्णय विवादमा परेको हो ।
आइतबार सामाजिक सञ्जालमा समेत उक्त नियुक्तिलाई लिएर व्यापक आलोचना भएको छ । धेरैले प्रधानमन्त्रीले सार्वजनिक रूपमा सुशासनको प्रतिबद्धता जनाए पनि व्यवहारमा भने आफन्त र नजिकका व्यक्तिलाई अवसर दिने प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् ।
प्रशासनिक स्रोतका अनुसार श्रेष्ठ यसअघि पनि केही महत्वपूर्ण निर्णय प्रक्रियामा प्रभावशाली भूमिका खेल्ने गरेको चर्चा रहने गरेको थियो । श्रेष्ठले केही निर्णय र नियुक्तिमा चलखेल गर्दासमेत प्रधानमन्त्री कार्कीले संरक्षण गर्ने गरेको आरोप लाग्दै आएको थियो ।
प्रकृति संरक्षण कोषजस्तो संस्थामा वातावरण, वन र जैविक विविधताबारे गहिरो ज्ञान तथा अनुभव भएका व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा त्यससम्बन्धी अनुभव नभएका व्यक्तिलाई अध्यक्ष बनाइएको भन्दै वन तथा वातावरण क्षेत्रका जानकारहरूले पनि असन्तुष्टि जनाएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर सकारात्मक छवि बनाएको सरकारको अन्तिम चरणमा गरिएको यस्तो निर्णयले प्रधानमन्त्री कार्कीको सुशासनसम्बन्धी प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको छ भने जेन–जी सरकारको छविमाथि नै गम्भीर अवमूल्यन भएको छ ।
होस गर्नुस् है प्रधानमन्त्रीज्यू, त्यो कुर्सीमा रातो लागेको छ
रक्षा बम
जेन–जी अभियन्ता
जेन–जी आन्दोलनमा शाहदात गर्ने युवाहरूसँगै सडकमा निस्किएकी जेन–जी अभियन्ता रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीले नातावाद, कृपावादलाई प्रश्रय दिएकोमा आक्रोश व्यक्त गर्दै त्यस्तो कार्य नगर्न चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्री कार्कीले दक्षता, क्षमता र प्रतिस्पर्धालाई लत्याएर आफू निकटकालाई विभिन्न नियुक्ति दिएपछि रक्षाले आइतबार आफ्नो सामाजिक सञ्जालमा जेन–जी आन्दोलनको सम्भावित मृतकको तर्फबाट भन्दै आक्रोश पोख्नुभएको हो ।
उहाँले लेख्नुभएको छ – ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेन–जी साथीहरूले छाती र टाउकोमा गोली खाए । मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको पर्वाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए ।’ प्रधानमन्त्री कार्कीलाई सचेत पार्दै र प्रश्न गर्दै रक्षाले भन्नुभएको छ, ‘केका लागि थाहा छ रु यो देशले, बिस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि । प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहारस्वरूप परिषद्, विभाग वा समितिका कुर्सीहरू बाँडफाँट गर्नका लागि होइन ।’ रक्षाले थप आक्रोश पोख्दै भन्नुभएको छ, ‘होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ । सडकले रगत भुलेको छैन र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन ।’ (आजको नेपाल समाचारपत्रबाट)







