खोटाङ, फागुन २४ गते । खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिव समेत रहनुभएका आरेन निर्वाचित हुनुभएको हो ।

केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुङ्देका आरेनले १६ हजार ६१२ मत पाउँदा देवविक्रमले १२ हजार ७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का डा हरि रोकाले नौ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का रुद्र गिरीले पाँच हजार ७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत प्राप्त गर्नुभएको कार्यालयले जनाएको छ ।

यस्तै, जनता समाजवादी पार्टी ९जसपा०का राकेश राईले ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ४७७, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०का चन्द्रबहादुर बुढाथोकीले १८२, जनता समाजवादी पार्टी (नेपाल_का सुनिल चाम्लिङले १११, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार डा राजकुमार राई २६ र तिलकचन्द्र राईले ४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएको छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो ।

प्रत्यक्षतर्फ खसेको मतमध्ये तीन हजार ९२८ मत बदर भएको पाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । प्रत्यक्षतर्फको गणना सकिएलगत्तै समानुपातिक मतसमेत गणना गर्न सुरु गरिएको छ ।