हुम्ला, फागुन २२ गते । जिल्लाका ६५ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर दलका प्रतिनिधि र उम्मेदवारबीच सर्वदलीय बैठक बसेपछि अहिले ७:४५ बजेदेखि मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठक बिहान ११:०० बजे बस्ने गरी बोलाइएको भए पनि ढिलाइ भएपछि दिउँसो ३:०० बैठक बसेको थियो ।
उक्त बैठकले ७:४५ बजेदेखि हुम्लाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिनुभयो ।
मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो । आज बिहान छ वटा मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत र अन्य ५९ मतदान केन्द्रका मतपेटिका स्थलमार्ग भएर राति नै मतगणनास्थलमा ल्याइसकिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हुम्लामा ३४ हजार ३७२ मतदाता भएपनि २२ हजार ४६७ मत खसेको थियो ।







