काठमाडौँ, फागुन १८ गते । मध्यपूर्वमा बढ्दो अस्थिरतासँगै त्यहाँ कार्यरत करिब १७ लाख नेपाली प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभावित हुने जोखिम, सम्भावित आपत्कालीन उद्धार योजना तयारीमा राख्दै सरकारद्वारा १२ देशमा नयाँ श्रम स्वीकृति अस्थायी रूपमा स्थगन

मध्यपूर्व (पश्चिम–एसिया) मा बढ्दो सैन्य तनावका बिच युएईको राजधानी अबुधावीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक नेपालीको ज्यान गएको छ । इरानले शनिबार राति गरेको ड्रोन प्रहारमा ड्युटीमा रहेका नेपालीको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको हो । मृतकको पहिचान भने अझै खुलाइएको छैन । घटनामा नेपालीसँगै बंगलादेश र पाकिस्तानका एक–एक नागरिकको पनि मृत्यु भएको जनाइएको छ ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले ड्रोन प्रहारमा एक नेपालीले ज्यान गुमाएको पुष्टि गर्दै युएई सरकारसँग विस्तृत विवरण मागिएको बताए । ‘ड्रोन आक्रमणमा एयरपोर्टमा ड्युटीमा रहेका एक नेपालीको दुःखद निधन भएको खबर आएको छ । हामीले युएई सरकारसँग विस्तृत विवरण मागेका छौँ,’ उनले टेलिफोनमा भने, ‘व्यक्तिको पहिचान र अन्य विवरण संकलन गर्ने काम भइरहेको छ ।’

अमेरिका–इजरायल र इरान युद्धका कारण मध्यपूर्व ९पश्चिम एसिया०का १६ मध्ये १३ देशमा १७ लाख २९ हजार २८८ नेपाली नागरिक प्रभावित भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार युद्धका दुई पक्ष मुलुक इजरायलमा ६ हजार ५ सय र इरानमा ६ जना नेपाली छन् । युद्धका दुई पक्षधर इरान र इजरायलमा रहेका नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार जोखिमपूर्ण मुलुक इरानमा ६ जना र इजरायलमा ६ हजार पाँच सयजना नेपाली कार्यरत छन् । ‘इरानमा १० जना नेपाली रहेकामा ६ जना इरानी भूमिमा हुनुहुन्छ,’ परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने । नेपाली कार्यवाहक राजदूत ओम भण्डारीले इजरायलका नेपालीहरू सुरक्षित रहेको बताए । ‘इजरायलमा नेपालीहरू सुरक्षित हुनुहुन्छ । हामी उहाँहरूसँग सम्पर्कमा छौँ । नेपालीहरूको सुरक्षा हाम्रो प्राथमिकतामा छ,’ कार्यवाहक राजदूत भण्डारीले टेलिफोनमा भने, ‘अहिलेसम्म यहाँ चिन्ता गर्नुपर्ने अवस्था छैन । हामी इजरायल सरकारसँग पनि सम्पर्कमा छौँ ।’

सम्भावित जोखिमबाट उद्धारका लागि सरकारले पनि गृहकार्य थालेको छ । मन्त्रिपरिषद् बैठकमा आइतबार मध्यपूर्वमा विकसित परिस्थिति र नेपालीहरूको सुरक्षाबारे छलफल भएको छ । आइतबारै मुख्यसचिव सुमन अर्यालले सरोकारवाला मन्त्रालयमा सचिवहरूसँग पनि यही विषयमा छलफल गरेका छन् । परराष्ट्रको पश्चिम तथा मध्य एसिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार मध्यपूर्वमा रहेका नेपाली १७ लाख २९ हजार २८८ छन् । ‘आइतबार मुख्यसचिवको समन्वयमा सरोकारवाला मन्त्रालयका सचिवसहितको बैठकमा नेपालीहरूको अवस्था र सम्भावित परिस्थितिबारे छलफल भयो,’ खड्काले भने, ‘नेपालीहरूका लागि भविष्यमा उद्धार गर्नुपर्ने अवस्थालाई समेत मध्यनजर गर्दै अनलाइन रजिस्ट्रेसन प्लेटफर्म बनाउने र कन्सुलर विभागबाट एउटा एप्स पनि सार्वजनिक गर्नेबारे छलफल भएको छ ।’

परराष्ट्रसचिव अमृतबहादुर राईको नेतृत्वमा गृह, श्रम मन्त्रालयका सचिवहरूसमेत रहेको बहुपक्षीय सरोकारवालाहरूको आपतकालीन उद्धार टिम गठन गर्न लागिएको पनि खड्काले बताए । ‘हामी छिमेकी देशहरूको उद्धार योजनालाई पनि हेर्छौँ, त्यहाँ विकसित भएको र हुने घटनाक्रमसमेत हेरेर उद्धार योजना बनाउँनेछौँ,’ खड्काले भने । कन्सुलर सेवा विभागले नेपालीहरूलाई आफ्नो अवस्थाबारे टिपाउन हटलाइन सम्पर्क स्थापित गर्न लागेको छ । परराष्ट्रले अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइओएम० सँग पनि समन्वय गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव कृष्णप्रसाद ढकालले बाहिर रहेका नेपाली र उनका परिवारलाई नआत्तिन र धैर्य गर्न अनुरोध गरेका छन् । ‘नेपालीहरू सुरक्षित हुनुहुन्छ । उहाँहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ । हामी सहयोग गर्छौँ । सरकारी सूचनाहरूको पालना गर्नुहोला । उपयुक्त समयमा सरकारले आवश्यक सबै कदम चाल्ने गरी तयारी भइरहेको छ,’ ढकालले भने ।संयुक्त अरब इमिरेट्स ९युएई० मा करिब सात लाख नेपाली रहेको परराष्ट्रको तथ्यांक छ । प्रमुख श्रम गन्तव्य मुलुक युएईमा श्रम स्वीकृतिसँगै भिजिट भिसामा प्रवेश गरी रोजगारी गरेर बस्नेको संख्यासमेत उल्लेख्य रहेको छ ।

साउदी अरेबियामा तीन लाख ८४ हजार ८६५ नेपाली कार्यरत छन् । कतारमा तीन लाख ५७ हजार ९१३ जना छन् । सरकारी क्षेत्रमा १० हजार १०, अर्धसरकारी क्षेत्रमा चार हजार ५४६, निजी कम्पनीमा तीन लाख ४० हजार ८४४ र व्यक्तिगत स्पोन्सरमा २५ नेपाली पुगेका छन् । सन् २०२२ मा कतारमा विश्वकप फुटबल सकिएपछि नेपाली कामदारहरूको आपूर्ति कम भएको मन्त्रालयले जनाएको छ ।

कुवेतमा एक लाख ७५ हजार नेपाली रहेकामा ७५ प्रतिशत महिला घरेलु कामदारका रूपमा कार्यरत छन् । जोर्डनमा रहेका तीन हजार नेपाली घरेलु कामदार र गार्मेन्ट उद्योगमा कार्यरत छन् । जोर्डनमा अधिकांश महिलाहरू जाने गरेका छन् । बहराइनमा २८ हजार रहेकामा २४ हजार पुरुष र चार हजार महिला रहेका छन् ।

ओमानमा २५ हजार नेपाली कार्यरत रहेको र यसमध्ये ८० प्रतिशत महिला घरेलु कामदारका रूपमा छन् । लेबनानमा १५ सय र इराकमा ३० हजार नेपाली रहेका छन् । साइप्रसको घरेलु कामदार र सेवा क्षेत्रमा १७ हजार नेपाली कार्यरत रहेको मन्त्रालयले जनाएको छ । इजिप्टमा मेडिकल अध्ययन र रोजगारीका लागि ५ सय विद्यार्थी रहेका छन् । इजिप्टमा घरेलु कामदार र औद्योगिक मजदुरका रूपमा पनि केही कार्यरत छन् । १३ मुलुकमा रहेका नेपालीहरूलाई मध्यपूर्वका १० नेपाली कूटनीतिक नियोगमा सम्पर्क गर्न भनिएको छ । नियोगहरूले पनि नेपालीहरूसँग सम्पर्क राखेका छन् । पछिल्लोपटक १ फागुनमा परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई तत्काल देश छाड्न यात्रा एड्भाइजरी जारी गरेको थियो ।

सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानमा नेपालको जोड, कूटनीति र संवादमार्फत मतभेद समाधान गर्न पनि आह्वान
इरानमाथि अमेरिका–इजरायलले हमला गरेपछि उत्पन्न परिस्थितिबारे चिन्ता जनाउँदै नेपालले राष्ट्रहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानमा जोड दिएको छ । नेपालले कूटनीति र संवादमार्फत मतभेद समाधान गर्न पनि आह्वान गरेको छ । ‘नेपालले मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ र घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ,’ आइतबार जारी परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा छ । परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पनि आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालको यही धारणा सुनाएका थिए ।

‘नेपाल सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन, थप तनाब बढ्न नदिन तथा सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ, मतभेदहरू कूटनीति र संवादमार्फत समाधान गर्न आह्वान गर्छ,’ परराष्ट्रले भनेको छ, ‘संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुसार सबै राष्ट्रहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्छ भन्नेमा नेपाल जोड दिन चाहन्छ । नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने दायित्व कायम राखिनुपर्छ भन्नेमा नेपालको विश्वास छ ।’

आइतबार मन्त्रिपरिषद् बैठकमा पनि नेपालीहरूको सुरक्षाबारे छलफल भएको छ । बैठकपछि परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाली नागरिकलाई परेको असर र समाधानबारे पनि छलफल भएको बताए । ‘अहिले सबैतिर हवाई उडान बन्द भएको हुनाले कसैलाई पनि फर्काउन सक्ने अवस्था छैन । जो जहाँ हुनुहुन्छ, उहाँहरू सुरक्षित भएर रहने र हामीले सम्भव भएसम्म सहयोग गर्ने भन्ने भएको छ,’ परराष्ट्रमन्त्री शर्माले भने ।

१२ देशमा श्रम स्वीकृति स्थगित
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका १२ देशमा श्रम स्वीकृति रोकेको छ । मन्त्रालयका अनुसार अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण प्रभावित बनेका साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति रोक्ने निर्णय भएको हो । श्रम स्वीकृति रोकिएका अधिकांश देशहरू प्रमुख श्रम गन्तव्य मुलुकहरू हुन् । वैदेशिक रोजगार विभागका उप–महानिर्देशक चन्द्रबहादुर सिवाकोटीले मध्यपूर्वमा देखिएको तनावअनुसार निर्णय लिइएको बताए । ‘मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा नै अहिलेको प्रमुख चिन्ताको विषय हो । त्यसैले थप कामदार ती देशहरूमा पठाउनु उचित नहुने देखेर श्रम स्वीकृति रोकिएको हो,’ उनले भने ।

दैनिक १५ सय नेपाली वैदेशिक रोजगारीका लागि जाने गरेकोमा मध्यपूर्वमा मात्रै एक हजारभन्दा बढी जाने गरेको व्यवसायीको तथ्यांक छ । वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव महेशकुमार बस्नेतले मध्यपूर्वका विभिन्न देशहरूमा भिसा लागेर टिकटसमेत काटेका करिब ५ सय कामदारहरू शनिबार विमानस्थलबाट फर्किएका छन् । आइतबार टिकट लिएका कामदारहरूको भने ‘रि–सेड्युल’ भएको उनले बताए । (आजको नयाँ पत्रिका दैनिकबाट)