काठमाडौँ, फागुन ३ गते । भारतमा जारी आईसीसी टी–२० विश्वकपको समूह चरणबाट नेपाल बाहिरिएको छ । आज आइतबार दुई पटकको विश्वविजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

जारी प्रतियोगितामा नेपाले लगातार तेस्रो हार व्यहोर्दै समूह चरणबाट पाखा लागेको हो । वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको नेपाललाई वेस्ट इन्डिजले १५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै १३४ रनको लक्ष्य पूरा गर्न सफल भयो ।

जारी प्रतियोगितामा लगातार तीन खेल जितेको वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बनेको छ । यस अघि नेपालले इङग्ल्याण्ड र इटलीसँग हार व्यहोरेको थियो । लगातार तीन हार बेहोरेको नेपाल समूह चरणबाट बाहिरिने दोस्रो टोली बन्यो ।

समूह सी मा वेस्ट इन्डिजले अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा छ । दुई जित र एक हारबाट इंग्लयाण्ड ४ अंकसहित दोस्रो स्थानमा छ । समान २ अंक जोडेका स्कटल्याण्ड र इटली क्रमशः तेस्रो र चौथो स्थानमा छ । अब वेष्ट इन्डिज र इंग्लयाण्डले इटलीसँग खेल्न बाँकी छ । यस्तोमा इटलीलाई हराएमा इङ्ग्ल्याण्ड सुपर ८ मा पुग्नेछ । इटलीका लागि भने सुपर एट पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ ।

आजको खेलमा सोमपाल कामीका लागि व्यक्तिगत रुपमा भने उपलब्धी प्राप्त भयो । किनकी सोमबार नेपालका लागि तीन टी–२० विश्वकप खेल्ने पहिलो खेलाडी बन्नुभएको छ । नेपालका लागि बलिङमा नन्दन यादवले १ विकेट लिन सफल हुनुभएको थियो ।

नेपालले अब मङ्गलबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । जुन खेल नेपालको लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।