काठमाडौँ, माघ २५ गते । भारतमा जारी आईसीसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल र इङ्ल्याण्डबिच प्रतिस्पर्धा भइरहेको छ । नेपालले विश्वविजेता टिम इङ्ल्याण्डसँग भारतको मुम्बईस्थित वानखडे स्टेडियममा प्रतिस्पर्धा गरिरहेको छ ।
टस हारेर पहिले बलिङ गरेको नेपालका लागि टी–२० विश्वकपमार्फत् डेब्यू गरेका शेर मल्लले इनिङ्सको दोस्रो ओभरमै बलिङ गर्दै आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए ।
मिस्ट्री स्पीनरका रुपमा परिचित २३ वर्षीय युवा खेलाडी मल्लले मुम्बईको आइकोनिक वानखेडे स्टेडियममा आइतबार इङ्ग्ल्याण्ड विरुद्ध नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् । मल्ललाई राष्ट्रिय टिमका पूर्वकप्तान एवम् नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले वानखेडे स्टेडियममा डेब्यु क्याप प्रदान गर्नुभएको थियो ।
घरेलु क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका मल्लले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेपछि उनी राष्ट्रिय टिममा परेका हुन् । मल्ल यसअघि नेपालको यू–१९ राष्ट्रिय टिम र नेपाल ‘ए’ बाट खेलिसकेका खेलाडी हुन् । अब मल्ल नेपालका लागि टी २० अन्तर्राष्ट्रिय डेब्यु गर्ने ५३ औं खेलाडी बनेका छन् ।
यस पटक मल्लले ललित राजवंशीलाई पछि पार्दै नेपाली टिममा सन्दीप लामिछानेसँगै पहिलो रोजाइमा परेर नेपालका लागि विश्वकप प्रतियोगितामा डेब्यु गर्ने मौका पाएका छन् । उनले उक्त अवसरलाई सही सदुपयोग गर्दै आफ्नो क्षमतालाई प्रमाणित गरिदिए ।
नेपालले विश्वकपमा समूह्य सी को आफ्नो चारै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्ने छ ।







