काठमाडौँ, माघ २२ गते। साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.१९ अंकले बढेर २,७०८.७० विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिन कारोबारमा सामान्य गिरावट आएको बजार आज उकालो फर्किएको हो ।
आज नेप्से २,६८१.१३ विन्दुबाट कारोबार सुरु भई अधिकतम २,७०९.०० विन्दुसम्म पुगेको थियो भने न्यूनतम २,६७९.७५ विन्दुमा झरेको थियो । दिनभर ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ११ अर्ब ५८ करोड रुपैयाँ नाघेको छ । यो अघिल्लो दिनको तुलनामा करिब ५४ प्रतिशतले बढी हो ।
आजको कारोबारमा २०१ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको घटेको छ । बजार पुँजीकरण ४५.४७ खर्ब रुपैयाँ पुगेको छ भने ‘फ्लोट’ मार्केट क्याप १५.४८ खर्ब रुपैयाँमा कायम भएको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो । यस कम्पनीको मात्र ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ र सेयर मूल्य ५३१ रुपैयाँमा बन्द भएको छ ।
आजको बजारमा कालिञ्चोक दर्शन लिमिटेडसहित ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले एकै दिन १० प्रतिशतसम्म नाफा कमाएका छन् ।
यता, सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै क्षति व्यहोरेका छन् । यस कम्पनीको सेयर मूल्य करिब ९.९८ प्रतिशतले घटेको छ ।
समूहगत सूचकतर्फ हेर्दा व्यापार समूह बाहेक सबै समूह हरियाली देखिएका छन् । निर्जीवन बीमा तथा अन्य समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले बढेका छन् भने व्यापार समूह ०.४८ प्रतिशतले घटेको छ ।
विश्लेषकहरूका अनुसार कारोबार रकम र सूचक दुबैमा आएको सुधारले बजारमा लगानीकर्ताको मनोबल बढ्दै गएको संकेत गर्छ, यद्यपि आगामी दिनमा बजारको दिशा कर्पोरेट नतिजा र नीतिगत संकेतमा निर्भर रहने देखिन्छ ।







