रुपन्देही, माघ २० गते । रुपन्देहीको तिलोत्तमामा ४५ जना विद्यार्थीसवार बस दुर्घटनामा हुँदा २५ जना विद्यार्थी घाइते भएका छन् । तिलोत्तमा नगरपालिकास्थित शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना हुँदा घाइते भएका मध्ये १० जना विद्यार्थीको अवस्था गम्भीर रहेको बताइएको छ ।

कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरु लिन गएको उक्त बस बिहान करिब साढे ५ बजे ओमसतिया–४ बसन्तपुरमा ट्याक्टरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको टाउकोमा गहिरो चोट लागेको छ । घाइते विद्यार्थीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले जानकारी गराउनुभएको छ ।

रुपन्देहीको रोहिणी क्षेत्रबाट विद्यार्थी लिएर फर्किंदै गरेको लु १ ख ८६७५ नम्बरको बस टोल गेट नजिक ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।