लुम्बिनी, माघ ६ गते । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ताका क्रममा निर्वाचन क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० ले आफ्नो उम्मेदवारी दर्ता गरेको छ । प्रलोपाका तर्फबाट अध्यक्ष परिषद् सदस्य नारायण नागिलाले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला पार्टीका नेता तथा कार्यकर्ताहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि निर्धारण गरेको समय तालिकाअनुसार प्रलोपाले उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेको हो । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरू पनि आजै मनोनयन दर्ता गर्ने जनाइएको छ ।
यस क्षेत्रबाट नेसनल रिपब्लिक नेपाल पार्टीका तर्फबाट थमनबहादुर बुढाले मनोनयन दर्ता गराउनुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराउनुभएको हो ।
रुपन्देही–३ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का तर्फबाट डा लेखजङ्ग थापाले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा पुगेर डा थापाले मनोनयन दर्ता गराउनुभएको हो । यहाँ नेपाली कांग्रेसका तर्फबाट सुशील गुरुङ, नेकपा एमालेका बासुदेव घिमिरेलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।







