काठमाडौँ, पुस ३० गते । काठमाडौँ उपत्यकामा आज यो वर्षकै अत्यधिक चिसो महसुस भएको छ । आज बुधबार उपत्यकाको तापक्रम ३ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहान ६ बजेर २७ मिनेटमा ललितपुरको स्थित सानेपामा ३ डिग्री सेन्टिग्रटसम्म न्यूनतम तापक्रम मापन भएको मौसमविद् उज्वल उपाध्यायले जानकारी गराउनुभयो । उपाध्यायका अनुसार यो तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ ।
तापक्रम घटेकोले जाडो महसुस पनि धेरै भएको छ । आजको न्यूनतम तापक्रमको अन्तिम मापन ८ः४५ बजे गरिनेछ ।
यसैगरी, आज तराईको केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।







