काठमाडौँ, पुस २९ गते । गत वर्ष मुङ्गलिन–नारायणगढ सडक खण्डको शिमलतालमा माथिबाट खसेको पहिरोले त्रिशूली नदी खसालेर हराएको दुईवटा मध्ये गणपति डिलक्स नामको बसको भग्नावससे भेटिएको पुष्टिभएको छ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेँसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गणपति डिलक्स नाम लेखिएको गाडीको भग्नावसेस फेला परेको हो ।

पाटपुर्जा देखिएको सो गाडी खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त नाम लेखिएको गाडी फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते पहिरोले पुरिएर चितवनको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

गणपति डिलक्समा सवार ३१ जनामध्ये तीन जनाले हामफालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । सो मध्ये १४ जनाको शव फेला परेको थियो । अन्य हालसम्म बेपत्ता छन् ।