बरहथवा, पुस २८ गते। उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।
सर्लाहीको हरिवन नगरपालिका–१ बोरसटोल बस्ने वृद्धा सुनुवारको उमेर ढल्केसँगै पुराना यादहरू धमिलो भइसकेका छन्। आफू जन्मेको ठ्याक्कै तिथिमिति उहाँलाई याद छैन । “आमा शुभलक्ष्मी सुनुवारले ९० सालको भुइँचालो आउँदा तिमी एक वर्ष कि थियौँ, तिमी दसैँताका जन्मिएकी हौँ भन्नुभएको थियो”, उहाँले भन्नुभयो ।
यो डाडाँमाथिको उमेरसँगै चुरेको फेदीमा छोरी मिना सुनुवारको घरमा शरण लिएर बस्दै आउनुभएकी सुनमायाले दुई विवाह गरेर सात सन्तान जन्माउनुभएको छ । त्यसमध्ये छ जना जीवित रहेका उहाँले बताउनुभयो ।
“तिथिमिति याद छैन । ठ्याक्कै ठाउँ भुलिसके । तर, पहिलो विवाह हालको बागमती नगरपालिकास्थित सोल्टीमा भएको हो”, सुनमायाले भन्नुभयो, “पहिलो विवाह राम्रो नभएपछि साविक अत्रौली गाविस वडा नं ४ निवासी कमानसिं पुलामीसँग दोस्रो विवाह भएको थियो । छोराछोरी जन्मिए, हुर्किए । त्तकालीन समयमा सरकारी कागजातको खासै मतलब हुँदैनथ्यो । आफूले पनि वास्ता गरिन् । अहिले समस्या भएको छ । नागरिक नहुँदा कुनै गन्तीमा नै परिएको छैन ।”
“पहिलो श्रीमान्सँग हुँदा नागरिकता बनेको आफूलाई थोरै सम्झना भए पनि त्यसको अहिले उहाँसँग कुनै प्रमाण छैन । धेरै समयकाल बिते, त्यो पनि कता प¥यो कुनै भेउ छैन । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट जारी भएको नागरिकता सशस्त्र द्वन्द्वको समयमा आगलागी हुँदा कार्यालयको रेकर्ड जलेर खरानी भयो । अहिले फेरि बनाउन आवश्यक कागजात पुगेको छै”, छोरी मीना सुनुवारले भन्नुभयो ।
अरु कुनै प्रयोजन नभए पनि राज्यले वृद्ध अवस्थामा दिने सुविधा पाउन आफू एक थान नागरिकता कुरिरहेको सुनमायाले सुनाउनुभयो । कुराकानीका क्रममा निराशासँगै उहाँले आफ्नो समस्या समाधानमा पहल गरिदिन आग्रह गर्नुभयो ।
छिमेकमा आफूभन्दा कम उमेरका साथीसङ्गीले राज्यले दिने सामाजिक सुरक्षा भत्ता तीन महिनामा थापेर आएको सुन्दा आफू जस्तो निमुखाको पनि दिन आउछ कि भन्ने लागेको उहाँले बनाउनुभयो । “छोरीले दौडधुप गर्दा पनि नभएपछि अहिले हरेस खाएर बसेका छौँ । छोरीको घरमा बसेको छु, बुढेसकाल लागे पनि भोक लाग्छ, के गर्नु ?”, उहाँले दुःखेसो पोख्नुभभयो । सरकारले दिने भत्ता पाए छोरीमाथिको बोझ कम हुने सुनमायाले आशा व्यक्त गर्नुभयो ।
आफू जनप्रतिनिधि हुनुभन्दा पहिलादेखि वृद्ध सुनमाया आमाको अनुहारमा हाँसो ल्याउन गरेको प्रयास पटकपटक असफल भएको हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङले बताउनुभयो । यस्ता वृद्धवृद्धा एउटा कागजातको अभावमा राज्यको सम्पूर्ण सेवासुविधाबाट बञ्चित हुनुपरेको देख्दा आफू स्थानीय सरकारको वडाध्यक्षभन्दा मन अमिलो हुने गरेको उहाँले विचार राख्नुभयो ।
बेलाबेलामा आफू भेट्न जाने गरेको भन्दै प्रत्येक पटक आमाले आफ्नो नागरिकता कसरी र कहिले बन्छ ?भनेर सोध्ने गर्नुभएको वडाध्यक्ष घिसिङको भनाइ छ । “मैले आमाको फोटो मोबाइलमा राखेर सहयोगको याचना गर्दै हिँडेको धेरै भयो”, उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी परिवर्तन हुनासाथ पुग्ने गरेको छु ।”
आफू वडाध्यक्ष भएकै समयमा ज्येष्ठ नागरिक सुनमायालाई नागरिकता दिलाएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने रहर रहेको वडाध्यक्ष घिसिङले बताउनुभयो । “राज्यले दिलाउने भत्ता मात्र दिन पाए वृद्ध आमाले बिमारी हुँदा औषधिमूलो र आफूलाई मन लागेको खानेकुरा खानका लागि अरुको मुख ताक्नु पर्दैनथ्यो”, उहाँले भन्नुभयो ।







