फाइल तस्वीर
काठमाडौँ, पुस २० गते । आज देशभरको मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज आइतबार पश्चिमी वायुको प्रभावले देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
यसैगरी तराईको अधिकांश भागहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । तराई क्षेत्रमा आज दिउँसो पनि अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिममा उल्लेख छ ।
कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहनुको साथै तराई भूभागमा हुस्सुको समेत सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले केही दिनदेखि देशमा चिसो बढ्न थालेकाले आवश्यक काम बाहेक बाहिर ननिस्कन भन्दै सचेत गराएको थियो । काठमाडौँ उपत्यकता लगायत देशका प्रायः सबै भागहरुमो चिसो बढ्न थालेको छ ।







