काठमाडौँ, पुस १९ गते । काठमाडौँमा जारी एनभीए महिला भलिबलको उपाधी टपटप न्यु डायमण्ड युथ स्पोर्टस् क्लबले जितेको छ । आज शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको अन्तिम प्रतिस्पर्धामा डायमण्डले विभागिय टोली नेपाल पुलिस क्लवलाई २५–८, २५–१९ र २५–१८ को सोझो सेटमा पाखा लगाउँदै उपाधि जितेको हो ।
च्याम्पियनसिपमा तेस्रो पटक फाईनल खेलेको डायमण्डले तेस्रो पटक उपाधि जितेको हो । डायमण्डले यसअघि २०७८ सालमा विभागीय टिम एपीएफ क्लबलाई हराउँदै च्याम्पियनसिपको उपाधि उचालेको थियो ।
डायमन्ड टिम ०७९ मा फाईनलमा विभागीय टिम पुलिस क्लबसँग नै पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो ।
यसैगरी महिलातर्फ तेस्रो स्थानका लागि आजै भएको खेलमा विभागीय टिम एपिएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ तेस्रो बन्न सफल भएको छ । एकपक्षीय खेलमा एपिएफले आर्मीमाथि २५–१३, २५–१७ र २५–१० को सहज जित निकाल्दै तेस्रो स्थान पक्का गरेको हो ।
काठमाडौँमा जारी एनभीए पुरुष भलिबलको उपाधीका लागि आजै टिप टप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लव खेल्दै छन् । उक्त खेल त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कभर्ड हलमा दुवै टिमबीच प्रतिस्पर्धा भएको छ ।







