काठमाडौँ, पुस १६ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका ११० सिटका लागि ६४ दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । १३ र १४ पुसमा बन्दसूची पेस गर्ने निर्वाचन कार्यतालिका थियो । समानुपातिक निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका दलहरूको संख्या भने सय छ ।

आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार ६४ दलले ५८ चुनाव चिह्नमा समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची पेस गरेका छन् । उनका अनुसार ६४ मध्ये ५४ दलले आ–आफ्नो निर्वाचन चिह्न र १० दलले चारवटा एकल चिह्नमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् ।

निर्वाचन आयोगले १३ र १४ पुसमा उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई आह्वान गरेको थियो । समानुपातिक निर्वाचनमा भाग लिन दर्ता भएका सय दलहरूले मंगलबार बिहानैसम्म बुझाएको बन्दसूचीलाई आयोगले दर्ता गरेको छ । कांग्रेसको बन्दसूची बिहान ११स्५० मा दर्ता भएको थियो ।

प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपाले आगामी निर्वाचनका लागि समानुपातिकतर्फ सकेसम्म धेरै नयाँ अनुहार उम्मेदवार बनाएका छन् । नयाँ वैकल्पिक शक्तिका रूपमा अगाडि बढिरहेको रास्वपामा भने उम्मेदवार छनोटमा भौगोलिक असन्तुलन देखिएको छ ।

नेकपाले ११० जनाकै सूचीमा सांसदसमेत नभएका सबै नयाँ अनुहार राखेको छ । कांग्रेसले केही नामबाहेक ०६४ पछि सांसद नबनेकालाई प्राथमिकता दिएर सूचीमा नयाँ अनुहार ल्याएको छ । एमालेले पनि दुई पदाधिकारी र केही पूर्वसांसदबाहेक ९० प्रतिशत नयाँ अनुहारलाई समानुपातिकको उम्मेदवार बनाएको छ ।

नयाँ वैकल्पिक शक्तिका रूपमा अगाडि बढिरहेको रास्वपामा भने उम्मेदवार छनोटको सन्तुलनमा प्रश्न उठेका छन् । अध्यक्ष रवि लामिछानेको गृहजिल्ला चितवनबाट २१ र मोरङबाट १५ सहित एकतिहाइ उम्मेदवार दुई जिल्लाबाट समावेश गर्दा सुदूरपश्चिमबाट सबैभन्दा कम उम्मेदवार समेटिएको छ ।

यसका साथै प्राइमरी इलेक्सनमा सर्वाधिक लोकप्रिय मत ल्याउनेहरूलाई छानी–छानी पछाडि पारिएको भन्दै रास्वपामा असन्तुष्टि देखिएको छ । ठुला पुराना पार्टीले व्यावसायिक पृष्ठभूमिका मान्छेलाई नसमेटे पनि रास्वपाले केही उद्योगी, व्यवसायी, केही सेलेब्रिटी, कलाकार र सामाजिक इनफ्ल्युन्सरहरूलाई सूचीमा स्थान दिएको छ । (आजको नयाँ पत्रिका दैनिकबाट)