सङ्खुवासभा, पुस १४ गते। जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार नख्खुबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार फरार विश्वकर्माको खोजीका लागि खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मोरङको बेलबारी नगरपालिका–४ मा आफन्तको घरमा लुकिरहेको अवस्थामा शनिबार उनलाई नियन्त्रणमा लिएको हो।
विश्वकर्मा जबरजस्तीकरणी मुद्दामा २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार नख्खुमा कैद भुक्तान गरिरहेका थिए। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट भागेका थिए।
प्रहरीका अनुसार जेनजी प्रदर्शनकै क्रममा फरार भएका कैदीहरूमध्ये हालसम्म सात जनालाई पक्राउ गरिसकिएको छ। पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि आइतबार कारागार कार्यालय सङ्खुवासभामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।







