काठमाडौँ, पुस १३ गते । प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष, चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ। ठगीसम्बन्धी आरोपमा चिङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभएको हो ।

प्रहरीका अनुसार क्यासिनोमा डमी खेलाडी प्रयोग गरी आँखामा लेन्स र तासमा चिप्स जडान गरेर ठगी गरिएको आरोपमा यसअघि चार भारतीय र दुई नेपाली नागरिक पक्राउ परिसकेका थिए। सोही प्रकरणको थप अनुसन्धानका क्रममा चिङलाई पक्राउ गरिएको हो।

अलफ्ट होटल परिसरमा सञ्चालित उक्त क्यासिनोमा ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाइ भारतीय समूहले संगठित रूपमा ठगी गतिविधि सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।