झापा, पुस ११ गते । झापाको काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा पुस २७ र २८ गते ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२’ फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको छ। प्रेस क्लब मेचीनगरको आयोजनामा हुने प्रतियोगिता काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइनेछ।
नेपाल र भारत बीचको सम्बन्धलाई प्रगाढ बनाउन र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रेस क्लबका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए। यस प्रतियोगितामा नेपाल र भारतका आठ वटा मिडिया टोलीहरू भाग लिनेछन्।
प्रतियोगिताको विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। नकआउट पद्धतिमा खेलाइने प्रतियोगिता फिफाको नियम अनुसार हुनेछ, र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद पुरस्कार पनि प्रदान गरिने छ। प्रतियोगिता सम्पन्न गर्न करिब रु २ लाख खर्च लाग्ने अनुमान गरिएको छ, जसका लागि स्थानीय सरकार, संघसंस्था र उद्योगी व्यवसायीहरूलाई सहयोगको आह्वान गरिएको छ।







