मुख्यमन्त्री कृष्णप्रसाद यादव
धनुषा, पुस २ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते शुक्रबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री यादवले आज बुधबार प्रदेशसभा सचिवालयलाई पत्र लेखेर ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो ।
मुख्यमन्त्री यादवले ‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न मिति २०८२ पुस ४ गते शुक्रबारको दिन दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछु’ भनि प्रदेशसभा सचिवालयलाई पत्र पठाउनुभएको थियो ।
मुख्यमन्त्री यादवले विश्वासको मत नलिंदा मन्त्रीमण्डल विस्तार गर्न ढिलाई भएको छ । अहिलेसम्म मधेश प्रदेशमा मन्त्रीमण्डलले पूर्णता पाएको छैन । गत मङ्सिर १९ गते ७ काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्रसहित ७ दलका ७७ जना सांसदको समर्थनमा नेपाली काङ्ग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
अहिलेसम्म नेपाली काङ्ग्रेसबाट जङ्गीलाल यादव, नेकपा (एकीकृत समाजवादी)बाट गणेश पटेल, नेकपा (माओवादी केन्द्र) बाट जवाहर कुशवाह र लोकतान्त्रिक समाजवादी पार्टीबाट रानीकुमारी तिवारी मन्त्री हुुुनुहुन्छ । जङ्गीलाल यादवलाई स्वास्थ्य तथा जनसङ्ख्या, गणेश पटेललाई उद्योग वाणिज्य पर्यटन, जवाहर कुशवाहलाई सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लोसपाकी रानीकुमारी तिवारीलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।
संविधानअनुसार, दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ ।







