फाइल तस्वीर
काठमाडौँ, मङ्सिर २९ गते । तरलता बढेसँगै बैंँकहरुले ब्याजदर घटाएका छन् । एक दर्जनभन्दा बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् ।

बैंकहरूले आज सोमबार सार्वजनिक गरेको सूचनाअनुसार भोलिदेखि लागुहुनेगरी पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ४ दशमलव ८३४ प्रतिशत निर्धारण गरेका छन् । बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।

राष्ट्रिय बाणिज्य बैँक, ग्लोबल आइएमईलगायत विभिन्न १३ वटा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यी बैंकहरुले ०.५ प्रतिशतविन्दुले घटाएका हुन् ।

प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् । सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, एनएमबि एनआईसी एशिया, सिद्धार्थ र हिमालयन बैंकहरुले मङ्सिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । पुस महिनाका लागि ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।