फाइल तस्वीर

धनुषा, मङ्सिर २१ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शुक्रबार ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवले आज आइतबार पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो ।

काङ्ग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मङ्सिर १९ गते मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै आजै मन्त्रीमण्डल पनि गठन गर्दै हुनुहुन्छ ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नुभएका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मङ्सिर १७ गते राजीनामा दिएपछि काङ्ग्रेस दलका नेता यादव मुख्यमन्त्री बन्न बाटो खुलेको हो ।

गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।

तर विश्वासको मत लिनसक्ने अवस्था नरहेपछि एमालेका नेता एवम् निवर्तमान मुख्यमन्त्री यादवले राजीनामा दिनुभएको थियो । नवनियुक्त मुख्यमन्त्री यादवललाई आफ्नो पार्टी काङ्ग्रेससहित जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका ७७ सांसदहरूको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेस गर्नुभएको थिए ।