फाइल तस्वीर
काठमाडौँ, मङ्सिर १५ गते । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा आज उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ ।
मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको नेपालले यूएईलाई हराएर उपाधि चुम्न आतुर छ भने यता आयोजक राष्ट्र यूएई पनि घरेलु मैदान र दर्शकहरुको साथमा उपाधि चुम्न मैदानमा उत्रिंदैछ ।
आजको फाइनल खेल नेपाली समय अनुसार आज सोमबार बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ ।
नेपाल मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलका लागि आफ्नो स्थान सुरक्षित बनाएको थियो ।
नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ ।
सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ ।
तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।







