काठमाडौँ, मङ्सिर ८ गते । देशकै ठुलो त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह बर्सेनि अव्यवस्थित र भद्रगोल हुने गरेको छ । जसकारण दीक्षान्त समारोहमा सहभागी हुनेको संख्या घट्दोक्रममा रहेको छ । गत वर्ष त्रिवि सिनेटले दीक्षान्त समारोह वर्षमा दुईपटक गर्ने नीति तथा कार्यक्रम पास गरेको थियो । तर, त्यो विषय अझै कार्यान्वयनमा आउन सकेको छ । यस वर्षको नीति तथा कार्यक्रममा दीक्षान्तको विषय नै समेटिएन । जसले गर्दा यस वर्षको दीक्षान्त समारोह पनि भद्रगोल हुने परिस्थिति बन्दै छ ।
एकैसाथ सबै संकाय र तहको दीक्षान्त समारोह हुँदा सर्टिफिकेट लिने र दीक्षान्तमा भाग लिने विद्यार्थीहरूलाई कठिन हुने गरेको छ । त्रिविमा सबैभन्दा बढी स्नातक तहका विद्यार्थीहरूले दीक्षित हुन फाराम भर्छन् । त्यसमध्ये सबैभन्दा बढी व्यवस्थापन संकायका विद्यार्थी हुन्छन् । तर, मिहिनेत गरे पढेका विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र र पदक प्राप्त गर्ने वेला भने हैरानी खेप्दै आइरहेका छन् । त्रिविले स्नातक तह, स्नातकोत्तर तह, एमफिलरपिएचडी तहका विद्यार्थीलाई एकैसाथ दीक्षान्त समारोहमा सहभागी गराउँदै आएको छ । विद्यार्थी संख्या अत्यधिक हुने भएकाले हरेक वर्ष त्रिविले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीक्षान्त समारोह आयोजना गर्दै आएको छ ।
यो वर्ष त्रिविमा ८० हजार विद्यार्थी उत्तीर्ण भएका थिए । तर, आगामी १० पुसमा हुने दीक्षान्त समारोहमा भाग लिन १८ हजार पाँच सयले मात्रै फाराम भरेका छन् । यस्तो हुनुको मुख्य कारण दीक्षान्त समारोह अव्यवस्थित हुनु हो । उपकुलपति प्रा।डा। दीपक अर्यालले दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीको संख्या निकै कम रहेको जानकारी दिँदै यसतर्फ आकर्षण बढाउन समारोह व्यवस्थित बनाउनतर्फ लागिने बताए । ‘धेरैले भाग नै नलिने गरेको पाइन्छ, दीक्षान्तको महत्व देखाउन नसकेर पनि हो, अव्यवस्थित भएर पनि होला, यसबारेमा हामी गम्भीर छौँ । त्यसैले आगामी दिनमा ध्यान दिएर व्यवस्थित गर्नतिर लाग्छौँ,’ उनले भने ।
विद्यार्थीहरू दीक्षित हुन आउँदा आफन्तसमेत लिएर आउने चलन छ । समारोहमा तीनजनासम्म आफन्त ल्याउन पाइने नियम छ । सानो ठाउँमा ठुलो संख्यामा विद्यार्थी र अभिभावक उपस्थित हुने भएकाले पनि दशरथ रंगशाला क्षेत्र र आसपासका सडक अस्तव्यस्त बन्ने गरेका छन् । हजारौँ विद्यार्थीहरूलाई एकैपटक दीक्षित गराउँदा कार्यक्रम नै भद्रगोल हुने गरेको गुनासो विद्यार्थीहरूको छ ।
‘यसरी हरेक वर्ष एकै ठाउँमा विद्यार्थीलाई कोचेर दीक्षान्त समारोह गर्नु राम्रो भएन, कि त दुई चरणमा यस्तो समारोह हुनुपर्छ, कि त अझै ठुलो ठाउँमा गरिनुपर्छ,’ त्रिविमा व्यवस्थापन संकायमा स्नातकोत्तर सकेर दीक्षान्त समारोहमा भाग लिने तयारी गरिरहेका सन्दीप बस्नेतले भने, ‘एकै चरणमा दीक्षान्त समारोह गर्दा भिडभाड त हुने नै भयो ।’
त्रिवि उपकुलपति अर्यालले गत वर्षको नीति तथा कार्यक्रममा दुई चरणमा दीक्षान्त समारोह कार्यक्रम गर्ने भनेर समेटिए पनि यो वर्ष त्यो विषय छुटेको जानकारी दिए । उनले दुई चरणमा दीक्षान्त समारोह गर्दा झन् अस्तव्यस्त हुने भन्दै एकै चरणमा गर्नुपर्ने बताए । ‘त्रिविको दीक्षान्त समारोहमा धेरै विद्यार्थी हुन्छन्, तर त्यसो भन्दैमा पटक–पटक दीक्षान्त समारोह आयोजना गर्न सकिँदैन, बढी खर्च हुन्छ,’ उनले भने, ‘प्रदेश प्रदेशमा गर्ने हो भने पनि बढी खर्च हुन्छ, किनभने दीक्षान्त समारोहमा सिनेट टिम सहभागी हुनैपर्छ, अझ प्रधानमन्त्रीसहितको उपस्थिति हुनुपर्छ, त्यसैले दुई–तीन चरणमा गर्न सम्भव हुँदैन, आर्थिक भार पर्छ ।’ अर्यालका अनुसार एकै चरणमा दीक्षान्त समारोह आयोजना गर्दा १० लाखभन्दा बढी खर्च हुने गरेको छ ।
यसपटकको दीक्षान्त भाषण गर्न नोबेल पुरस्कार पाउने वैज्ञानिकलाई बोलाउने तयारी गरिएको छ । जापानको टोकियो युनिभर्सिटीका प्रोफेसरलाई निमन्त्रणा गरिसकेको उपकुलपति अर्यालले जानकारी दिए । उनका अनुसार त्रिविको इतिहासमै नोबेल पुरस्कार पाउने प्रोफेसर बोलाउन लागिएको यो पहिलो रेकर्ड हो । (आजको नयाँ पत्रिका दैनिकबाट)







