साङ्केतिक तस्वीर
सुर्खेत, असोज १५ गते । जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज बिहान कर्णाली प्रदेश ०२००१ च १२५५ नम्बरको जिप पोख्रामा दुर्घटना हुँदा नलगाड नगरपालिका–५ बाट पोख्राका २२ वर्षीय निसान वलीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उहाँको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते हुनुभएको छ ।  घाइतेमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।