फाइल तस्वीर
काठमाडौँ, भदौ ७ गते । आज भाद्रकृष्ण औँसीका दिन, दिवङ्गत आफ्ना पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्नुका साथै हिन्दू वैदिक परम्परा अनुसार भाद्र कृष्ण औँसीलाई कुशे औँसी वा बुबाको मुखहेर्ने दिनका रुपमा पनि लिइन्छ । कुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन मनाइने पर्व हो ।

आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो लागेको छ ।भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएको छ । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो ।

सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले गोकर्णमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड धेरै हुने गर्दछ । यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरुहरुको भनाइ छ ।

आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ ।