राष्ट्रियसभाको बैठक ।
काठमाडौँ, साउन २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’लाई सर्वसम्मतिले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएपछि उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो।
त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि बैठकमा छलफल गरिएको थियो । छलफलमा सांसदहरु विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले सो विधेयकका विभिन्न पक्षमा आफ्नो धारणा राख्नुभएको थियो ।
सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले जलस्रोतको उपयोग, व्यवस्थापन गर्ने उद्देश्यका साथ जलस्रोत विधेयक प्रस्तुत गरिएको बताउनुभयो । उहाँले संविधानमा नै समावेशीताको प्रबन्ध भएकाले विधेयकमा दलितलगायतका विषय उल्लेख गर्नु नपर्ने सबै सदस्यको धारणा रहेकाले सोही अनुसार गरिएको बताउनुभयो । विधेयकमा उल्लेख भएको बाँधको सुरक्षाको विषयलाई थप प्रष्ट पारिएको उहाँले बताउनुभयो ।
यस्तै, यही साउन ५ गते ८५ वर्षको उमेरमा निधन हुनुभएका प्रतिनिधिसभाका पूर्व सदस्य खगराज शर्माको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही साउन २७ गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ ।







