प्रतिकात्मक तस्वीर

काठमाडौं, साउन १५ गते । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बेलाबेलामा चर्चामा आउनु गरेको छ । तस्करीका सामान र तस्करका भरियाहरुलाई पक्राउ गरेर बेलाबेलामा चर्चामा आउनु गरेको हो ।

यसै परिप्रेक्षमा तीन दिन अघि पनि उक्त विमानस्थलबाट प्रहरीले डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिकलाई विमानस्थलमा पक्राउ गरेसँगै चर्चामा आएको छ । सुन र प्रतिबन्धित लागूपदार्थहरु ओसार परास गर्ने थलोको रुपमा बेलाबखत परिभाषित हुने त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सेटिङ नमिले पछि मात्रै तस्करका झोलेहरु समातिने गरेका छन् ।

मङ्गलबार विमानस्थलमा प्रहरीले एक महिलाको गतिविधि शङ्कास्पद लागेपछि लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको थियो । ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, ती महिलाले ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्यूब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ । कोकिन तस्करीकै लागि त्यो ब्याग डिजाइन गरिएको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले ती महिलासँग सोधपुछ गर्ने क्रममा कोकिन लिन आएका अर्का भारतीय नागरिकसमेत पक्राउ परेका छन् । प्रहरीले ती युवकलाई हिजो बुधबार पक्राउ गरेको थियो । दुवै जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।

हालै ब्यूरोले लागूऔषधसहित रसियनसहित अन्य देशका नागरिकलाई समेत पक्राउ गरेको छ ।