फाइल तस्वीर
काठमाडौँ, साउन १ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ । मन्त्री अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएपछि आज बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।
सिंहदरबारस्थित मन्त्रालयमा दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको मन्त्री अधिकारीको सचिवालयले जानकारी दिएको छ ।
पोखराको १ सय ३५ रोपनी जग्गा प्रकरणमा कमिसनको विषयको अडियो सार्वजनिक भएपछि निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री अधिकारी र नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको संलग्नता रहेको समाचार सार्वजनिक भएको थियो । सोही प्रकरणमा सामान्य प्रशासनमन्त्रीबाट राजकुमार गुप्ताले अस्ति मङ्गलबारमात्रै राजीनामा दिनुभएको थियो ।
उक्त प्रकरणमा सामान्य प्रशासन मन्त्रालयका तात्कालीन सचिज अर्जुन पोखरेलसहित मन्त्री भूमि व्यवस्थामन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत जोडिएको खुलासा भएको थियो । मन्त्री अधिकारीले जग्गा मिलाउन छोरा मनोजमार्फत् ३२ लाख रुपैयाँ घुस लिएको बताइएको छ । यसैगरी निर्वतमान सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख र तात्कालीन सचिव पोखरेलले ५ लाख रुपैयाँ लिएकार उक्त जग्ग व्यक्तिको नाममा नामसारी गर्ने तयार भएको खुलेको छ ।
पोखराको उक्त जग्गा व्यक्तिको नाममा नामसारी गर्नका लागि डेढ करोड रुपैयाँभन्दा बढि रकम खर्च भएको सार्वजनिक भएको थियो ।
अघिल्लो अडियोमा भूमि व्यवस्था मन्त्री अधिकारीको नाम निर्वतमान सामान्य प्रशासन मन्त्री गुप्ता र बिचौलियाले लिएको सुनिएकोमा मन्त्री अधिकारीले प्रतिनिधिसभा बैठकमा त्यसको प्रतिवाद गर्नुभएको थियो । सांसदहरुले प्रश्न उठाएपछि आफु सो प्रकरण संलग्न नभएको प्रष्टीकरण दिनुभएका मन्त्री अधिकारीले आज मन्त्रालयमा सोही विषयमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको हो ।







