काठमाडौँ, असार ३ गते । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौँको तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा तीनवटा कसुरमा प्रतिवादी बनाइनुभएका वरिष्ठ उपाध्यक्ष मिश्रलाई बयानपछि आज मङ्गलबार नै थुनछेक आदेश जारी गर्दै जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासले तीन लाख रुपैयाँ धरौटी माग गर्न आदेश दिएको हो ।
मिश्र र राणासहित ५० जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा सजायको मुद्दा दायर गरिएको थियो । यसअघि राप्रपाका महामन्त्री धवलशमशेर जवरा पनि तीन लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको थियो ।
तीनकुने घटनामा प्रतिवादी बनाइनुभएका मिश्र आज मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित हुनुभएको थियो । यसअघि अनुसन्धानको क्रममा मिश्रलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दिएर रिहा हुनुभएका मिश्र अरुको थुनछेकपछि मात्रै अदालतमा उपस्थित हुनुभएको हो ।