काठमाडौँ, असार ३ गते । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले एक सूचना टाँस गरेर पर्सि बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको हो ।


उच्चस्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति माग गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठक ३० मिनेटका लागि स्थगित गर्नुभएको थियो । बिहान ११ बजेका लागि तय भएको बैठक ३ घण्टा ढिला गरी दिउँसो २ बजेपछि बसेको केहीबेरमै आधा घण्टाका लागि स्थगित भएको थियो । साढे ४ बजेका लागि सारिएको बैठक पुन बस्दै नबसी सूचना टाँस गरेर बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।


सभामुख घिमिरेको सचिवालयका अनुसार भोलि बुधबार दलहरूलाई सहमतिका लागि तयारी गर्न समय दिइएकोले प्रतिनिधिसभा बैठक पर्सि बिहिबार बिहान बस्ने गरी बेलाइएको हो ।

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले जेठ १३ गतेदेखि यता भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा माग गर्दै विरोध जारी राखेको छ ।