झापा, असार २ गते । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याउनुभएको छ । धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्याङ्की निर्माणको आज शिलान्यस गर्दै महामन्त्री शर्माले मुलुकमा सबै समस्याको समाधान गर्ने नेतृत्वको जरुरी भएको बताउनुभयो ।
उहाँले प्रत्येक चुनावले नयाँ सरकार बनाउने तर प्रधानमन्त्री चाहिँ पुरानै व्यक्ति हुने परिपाटीले नागरिकमा गुनासो र असन्तुष्टि बढिरहेको बताउनुभयो । “यो दल, ऊ दल, यो गुट र ऊ गुटको होइन सिङ्गो राष्ट्रको अभिभावकको जरुरी छ,” उहाँले भन्नुभयो, “अब त्यसको हल हामी गर्छौं ।”
महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८३ सालपछि अभिभावकीय भूमिका निर्वाह गर्नेगरी अवधारणा बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले स्व टङ्कप्रसाद भट्टराईले दान दिनुभएको जग्गामा बन्न लागेको खानेपानीको ट्याङ्कीले मेचीनगर–९, १०, ११, १४ र वडा नं १५ का केही भागहरूमा समेत खानेपानी वितरण गर्न सहज हुने बताउनुभयो । झापा क्षेत्र नं १ मा मात्रै करिब रु एक अर्बको बजेटमा विभिन्न खानेपानीका योजनाहरू सञ्चालन भइरहेका उहाँको भनाइ छ ।
मेचीनगर नगरपालिका–९ मा रु १० करोड ४० लाख ९९ हजार ६४७ को लागतमा निर्माण हुने खानेपानी ट्याङ्कीको उहाँले शिलान्यस गर्नुभएको हो । दुई कट्ठा १० धुर खानेपानी समितिले खरिद गरेको त्यति नै क्षेत्रफलको जग्गा भट्टराईले दान दिएपछि पाँच कट्ठा जमिनमा चार लाख ५० हजार लिटर पानी क्षमताको ओभरहेड ट्याङ्की र सुरक्षागार्ड बस्ने घरसहितको संरचनाको निर्माण हुन लागेको छ । विसंं २०८४ मङ्सिर ११ गते सम्पन्न गरिसक्नु पर्नेगरी ठेक्का लागेको धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्ले, जग्गा दाता स्व टङ्कप्रसाद भट्टराईका बुबा पशुपति भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।