प्रतिनिधिसभा बैठकको फाइल तस्वीर ।
काठमाडौँ, असार १ गते । आज ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठकको समय सरेको छ । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँग बसेर सदन सुचारु गर्ने विषयमा छलफल भएको र दलहरु आन्तरिक छलफलमा रहेकोले बैठक बस्ने समय आधा घण्टाका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाबाट प्राप्त ’पानी जहाज विधेयक’ टेबुल हुनेछ सङ्घीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने संसद सचिवालयद्वारा जारी कार्यसूचीमा उल्लेख छ ।
यसैगरी आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तब्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुने कार्यसूची भएता पनि प्रतिनिधिसभाको बैठक सूचारु हुने अन्योलता कायमै छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहित गत जेठ १३ गतेदेखि अवरुद्ध बन्दै आएको प्रतिनिधिसभाको बैठक सुचारु गर्न माओवादी केन्द्र सहमत भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सदन चल्न नदिने अडान राख्दै आएका छन् ।
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानविन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले विरोध गर्दै सदन अवरुद्ध गर्ने रणनीति लिएका छन् । आज बिहान सभामुख घिमिरेसँग भएको बैठकमा रास्वपा राप्रपाले आफ्नो विरोध जारी राख्ने जानकारी गराइसकेका छन् ।