काठमाडौँ, जेठ २९ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्ने तय भएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूको अवरोधका कारण जेठ १३ गतेदेखि संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । दलहरूबीच सहमति जुट्दा नसक्दा आजको बैठक पनि बस्ने नबस्ने अन्योलता कायमै रहेको छ ।
संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, प्रतिनिधिसभाको आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।
