प्रतिनिधिसभाको बैठकको फाइल तस्वीर ।
काठमाडौँ, जेठ २८ गते ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठक दिउँसो १:०० बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने तय भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादीसहित अन्य प्रतिपक्षी दलहरुले ‘भिजिट भिसा’ प्रकरणमा गत १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पेश गर्न दिएका प्रतिपक्षी दलहरुले त्यसप िछ पुनः सोही प्रकरणलाई लिएर संसद अवरुद्ध गर्दै आएका छन् ।

प्रतिपक्षी दलहरुबाट निरन्तर भइरहेको सदन अवरुद्धले सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन । सडक र सदन प्रतिपक्षीको भन्ने एक खालको मान्यता रहँदै आएको छ । तर सरकार प्रतिपक्षी दलहरुको आवाजलाई सुन्न चाहेको छैन ।

संसदको पहिलो र दोस्रो ठूला दुई दल काङ्ग्रेस र एमाले सहित मधेसवादी साना दलहरु सम्मिलित झण्डै दुई तिहाइको मिलिजुली सरकार कमजोर प्रतिपक्षी दलहरुको आवाज सुन्ने चाहना नगर्दा संसद सरकार र प्रतिपक्षी दलहरुबाट बन्दी बनेको छ ।

जेठ १३ गतेदेखि लगातार सदन अवरुद्ध हुँदा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच सहमति नजुट्दासम्म सदन नियमित रुपमा सुचारु हुने सम्भावनाको ढोका खोलिएको छैन ।

यही अन्योलताका बीच संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकमा छलफल हुने कार्यसूची सार्वजनिक गरेको छ ।

आजको बैठकमा सरकारका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्नुहुने कार्यसूची छ ।

अवरुद्ध संसद सुचारु गर्ने विषयमा सरकार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतृत्वबीच छलफल भएता पनि आजको बैठक सुचारु हुनेमा अझै अन्योलता कायमै छ । त्यसो त सदन खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएता पनि ठोस निष्कर्षमा दलहरु पुगेका छैनन् ।