काठमाडौँ, जेठ २६ गते । निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरू भएको प्रतिनिधिसभा बैठक आधा घण्टापछि पुनः बस्नेगरी स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र्) सहितका विपक्षी सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन ।
सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न अनुमति दिने जानकारी दिँदै आसनबाट बसेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । विपक्षी दलको विरोधपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगन गरेको जानकारी गराउनुभयो ।
“दलहरूबीच सहमतिको प्रयत्न भइरहको र सहमतिका साथ संसद्को कार्यसूचीलाई अघि बढाउनुपर्ने महत्त्वलाई ध्यानमा राखेर शीर्ष नेताले प्रयत्न गरिरहेको भन्नुभएको छ, त्यसैले गर्दा यो बैठक आजै आधा घण्टापछि बस्ने गरी स्थगित हुन्छ,” सभामुख घिमिरेले भन्नुभयो ।
विपक्षी दलले यही जेठ १३ गतेदेखि ‘भिजिट भिसा’ प्रकरणलाई लिएर सदनमा विरोध जनाउँदै आएका छन् । उनीहरूले गृहमन्त्री राजीनामा र निष्पक्ष छानबिन अघि नबढेसम्म सदनमा विरोध कायमै रहने स्पष्ट पारेका छन् ।