दाङ, जेठ २४ गते । दाङका एकजना २६ वर्षीय थारु समुदायका युवा जोर्नी दुखेर अस्पताल पुग्नुभयो । उहाँको स्वास्थ्य परीक्षण गर्दा पहिले केही देखिएन र जोर्नी दुखाइ कम गर्ने औषधि सेवन गर्दा पनि रोग निको भएन । रगत परीक्षण गर्दा सिकलसेल एनिमिया भएको देखिएपछि उहाँले अहिले नियमित औषधि सेवन गरिरहनुभएको छ ।
बर्दियाका २३ वर्षीया चौधरी समुदायकी किशोरी पेट दुखेर अस्पताल पुग्नुभयो । उहाँको रगत परीक्षण गर्दा सिकलसेल एनिमिया भएको देखियो । थारु समुदायमा लक्षण फरकफरक भए पनि रोग एउटै देखिने गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डा रबिन गौतमले बताउनुभयो ।
“दाङमा यो रोगका बिरामी थपिँदै गएका छन्”, उहाँले भन्नुभयो, “यो रोग खानपानको कारणले हुँदैन । यो पूर्णतया वङ्शाणुगत हो । यदि बुबा वा आमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल हुँदैन । यदि दुवैमा वा कोही एक जनामा रोग भए उनीहरूबाट जन्मने बालबालिकामा पनि देखापर्ने गर्छ ।” सिकलसेलका बिरामी उपचारका लागि आए मात्र रोग पहिचान गरी औषधि दिन सकिने उहाँले बताउनुभयो ।
“वैज्ञानिकले यसलाई एक आपसमा सम्बन्धित गरेका छन् । प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नका लागि मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भइ सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ”, डा गौतमले भन्नुभयो ।
हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न नसक्ने जनाउँदै उहाँले उक्त मलेरियाको प्रतिरोधका लागि उक्त कोषिकाले आकार परिवर्तन गर्ने बताउनुभयो । आकार परिवर्तन हुने भएकाले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसङ्ख्या वा समुदायमा मात्र देखिने उहाँले जानकारी दिनुभयो ।
डा गौतमका अनुसार सिकलसेल भएकामा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरूको शरीरबाट रगत कम हुँदै जाने भएकाले त्यस्ता बिरामीलाई नियमित रगत चढाउनुपर्ने उहाँको भनाइ छ । “यो रोगमा धेरै किसिमका लक्षण हुने गर्छन् । कसैलाई हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग बढी दुख्ने गर्छ । कसैलाई जण्डिस देखा पर्ने र पेट दुख्ने समस्या हुन्छ”, उहाँले भन्नुभयो ।
दाङका थारु समुदायमा यो रोग फैलिएको छ । हेमोग्लोबिनसम्बन्धी जानकारी दिन र जनचेतना फैलाउन स्वास्थ्यकर्मी तथा सरोकार भएकासँग पैरवी गर्ने काम थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अन्य समुदायमा विवाह गर्ने युवायुवतीको कुण्डली हेरेजस्तै सिकलसेल भएका युवायुवतीको रगत परीक्षण गरेर मात्रै विवाह गर्नुपर्ने सुझाव समुदायमा दिँदै आइएको स्वास्थ्य कार्यालयका प्रमुख किशोर आचार्यले बताउनुभयो । लुम्बिनी प्रदेशमा स्वास्थ्य समस्याको रूपमा रहेको यो रोगका विषयमा समुदायमा चेतना फैलाउने र सेवाको पहुँचभन्दा बाहिर रहेका समुदायमा सचेत बनाउनुपर्ने काम रहेको आवश्यकता औँल्याउनुभयो ।
प्रमुख आचार्यका अनुसार दाङको राप्ती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण भइरहेको छ । स्वास्थ्य कार्यालयले सिकलसेल भएका बिरामीका परिवारको निःशुल्क बिमा गरेको उहाँले बताउनुभयो । “परिवारमा एकजना मात्रै बिरामी छ भने पनि परिवार सबैको निःशुल्क बिमा हुन्छ”, उहाँले भन्नुभयो, “थारु समुदायका किशोरकिशोरीमा यी लक्षण देखापर्ने हुँदा लक्षण देखिना साथ यथाशीघ्र रोगको पहिचान गरी उपचार गर्नु आवश्यक हुन्छ ।”
राप्ती प्रादेशक अस्पतालका फिजिसियन डा जीतनारायण यादवले सिकलसेलका लागि सबैले आफ्नोतर्फबाट सचेता फैलाउने काम गर्नुपर्ने बताउनुभयो । जनस्वास्थ्य समस्याका रूपमा रहेको यो रोग वङ्शाणुगत सर्ने भएकाले थारु समुदायका सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । समयमा रोगको पहिचान भएमा निदान गर्न सकिने उहाँको भनाइ छ ।
लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो रोग देखिएको जनाउँदै डा यादवले लुम्बिनीका दाङ, कपिलवस्तु, बाँके र बर्दियामा बिरामीको सङ्ख्या बढी रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेशबाबु श्रेष्ठले सिकलसेल रोग जनस्वास्थ्य समस्याका रूपमा रहेकाले स्थानीय सरकारले चेतना फैलाउने काम सुरु गरेको बताउनुभयो । आधारभूत स्वास्थ्य सेवाभित्र सिकलसेलको उपचारलाई राखी निःशुल्क औषधि उपलब्ध गराउँदै आइएको उहाँले जानकारी दिनुभयो । उहाँले सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव दिनुभयो ।