काठमाडौँ, जेठ २३ गते । पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले अमेरिकाको नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा स्थानीय नेपाली समुदायसँग नेपालको शिक्षाका विषयमा हालै एक अन्तरक्रिया गर्नुभएको छ ।
नेपालमा रहँदा शिक्षण पेसामा आबद्ध नेपाली विद्वत वर्गले नेपाल र अमेरिकाबीचको शिक्षण विधिका भिन्नता र एकरूपताका बारेमा आफ्ना धारणा राखेका थिए । सो अवसरमा नेपालको पाठ्यक्रम तथा शिक्षणमा गर्न सकिने परिवर्तन र सुधारका बारेमा छलफल भएको थियो ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी)का संस्थापक अध्यक्ष ईश्वर देवकोटाले पोख्रेललाई स्वागत गर्दै नेपालका विद्यालयमा पनि विद्यार्थीले क्षमता र रुचिअनुसार कलेजका केही कोर्ष विद्यालयमै अध्ययन गर्न पाउने अवसर प्रदान गर्ने नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
एनसिएनसीका अध्यक्ष डा विकास शाक्यले अमेरिकी शिक्षणमा जस्तै नेपालमा अनुसन्धानलाई अझ बढी समावेश गर्न सके उचित हुने बताउनुभयो । योगमाया विश्वविद्यालय परिषद् सदस्य तथा साहित्यकार डा नीलम कार्की ‘निहारिका’ले कोर्षका किताबबाहेक अतिरिक्त पुस्तक पढ्ने वातावरण सृजना गर्न र त्यसका लागि उमेर तथा तहअनुसारका पुस्तक प्रकाशन र पुस्तकालय व्यवस्थापनमा जोड दिनुभयो ।
हाल केही सामुदायिक विद्यालयले अनुकरणीय कार्य गरेको हुँदा त्यस्ता विद्यालयलाई नमूनाको रूपमा प्रस्तुत गर्दै शिक्षकलाई बेलाबेला तालिमका साथै निश्चित वर्षपछि लाइसेन्स नवीकरणको अवधारणा प्रभावकारी हुने उहाँको धारणा थियो । नर्थ क्यारोलोइना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले सानै उमेरदेखि ‘हेल्थ फुल लिभिङ’सम्बन्धी नैतिक शिक्षा दिनुपर्ने बताउनुभयो ।
पूर्वमन्त्री पोख्रेलले आर्थिक समृद्धि नभई शिक्षामा सुधार गर्न नसकिने, आर्थिक विकासका लागि प्रवासमा बस्ने प्रबुद्ध वर्ग पनि जोडिनुपर्ने धारणा राख्नुभयो । अबको शिक्षालाई बढी प्रयोगात्मक बनाउन, सूचना प्रविधि र नीति निर्माणमा जोड दिँदै सामुदायिक विद्यालयलाई गुणात्मक बनाउन सरकारले चासो दिई त्यहीअनुसारको नीति निर्माण तर्जुमा गर्नुपर्ने उहाँको भनाइ छ ।
“सम्बन्धित विषयमा निपूण, अनुभवीहरूलाई समेटेर शिक्षा नीति र पाठ्यक्रम तय गरी अगाडि नबढी उपायै छैन”, उहाँले भन्नुभयो, “प्रवासमा रहनेहरूलाई कुनै न कुनै माध्यमबाट आफ्नो माटोमा जोडिन अनुरोध गर्छु ।”
पछिल्लो समय केही नयाँ विश्वविद्यालयहरू खुलेका र तिनले विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्न सक्ने, नेपालको प्रकृति र स्रोतअनुसार अध्ययन अनुसन्धान हुने उहाँले जानकारी दिनुभयो । उहाँले योगमाया विश्वविद्यालयको अवधारणा र मुख्य विषय आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक चिकित्सा रहेको प्रष्ट पार्नुभयो ।