काङ्ग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सदस्य गगनकुमार थापा ।
विराटनगर, जेठ २३ गते । प्रमुख सत्तासाझेदार दल नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सदस्य गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विराटनगरस्थित विमानस्थलमा आज शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेस महामन्त्री थापाले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिंदै सो विषयमा अहिले आफुले कुनै टिप्पणी नगर्ने बताउनुभएको हो ।
काङ्ग्रेस महामन्त्री थापाले पार्टीको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रान सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने बताउनुभयो ।
काङ्ग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उहाँले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको धारणा राख्नुभयो । महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्ने बताउनुभयो ।