फाइल तस्वीर
काठमाडौँ जेठ २२ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको विषयलाई घटनालाई दुःखद् भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । नेपालको राजनीतिक इतिहासमै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको यो पहिलोपटक हो ।
पूर्वप्रधानमन्त्री खनालले यस विषयमा आफुले थप जानकारी लिएरमात्रै प्रतिक्रिया दिने जनाउनुभएको छ । नेता खनालले भन्नुभयो ‘ यो घटना धेरै दुःखद छ । यसबारेमा सबै तथ्य बुझेर मात्र प्रतिक्रिया दिनु उपयुक्त छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपालको इतिहासमै पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार गरेको अभियोगको मुद्दा दायर भएको घटनालाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै ‘के भएको हो ? कसो हो ? पूर्वाग्रह हो वा अन्य केही छ, यो विषय बडो गम्भीर हो । यस्ता कुरामा हचुवामा टिका टिप्पणी गर्नु राम्रो होइन’— एकीकृत समाजवादीका नेता खनालले भन्नुभयो ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफु प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गर्नेसम्बन्धमा उहाँका अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णण गरेको थियो ।
अख्तियारले पूर्वप्रधानमन्त्री नेपालकै नेतृत्व सरकारबाट हदबन्दी छुटमा पाएको उक्त जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्रीसमेत गरेको भेटिएपछि अख्तियारले छानविन सुरुगरेको थियो ।