फाइल तस्वीर
काठमाडौँ, जेठ २२ गते । सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहीबार दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १:१५ बजे बस्ने तय भएको हो ।
आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ । आजैको बैठकमा राज्य व्यवस्था समितिको प्रतिवेदन पेश गरिने छ ।
प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानविनको माग गर्दै संसद अवरोध गर्ने आएका छन् भने आज पनि सदन सुचारु हुने कम सम्भावना रहेको छ ।
प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउनुहुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।