प्रतिनिधिसभाको बैठकको फाइल तस्वीर ।
काठमाडौँ, जेठ २१ गते । सङ्घीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको बैठक आज बस्दैछ । संसद सचिवालयले जनाएअनुसार प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो १:०० बजे र राष्ट्रियसभाको बैठक १:१५ बजे बस्ने भएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल हुने संसद सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।
आजकै बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने आजको कार्यसूचीमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बैठकमा पेश गर्नुहुनेछ ।
यसैगरी आज दिउँसो बस्ने राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।