काठमाडौँ, जेठ २० गते । राष्ट्रियसभा सदस्यहरुले विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बर्खा सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोजस्ता विपद्को जोखिमतर्फ ध्यानाकर्षण गराउँदै पूर्वतयारी र सतर्कता अपनाउन माग गर्नुभयो ।
सांसदहरु तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा र शारदादेवी भट्टले विपद्को आकलनका आधारमा जोखिमयुक्त ठाउँको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । “अध्ययन–अनुसन्धानबिना नदीजन्य उत्खनन गर्ने, अनावश्यक पहाड भत्काउने, प्रकृतिलाई तोडफोड गर्ने कामहरु भइरहेका छन् । यसतर्फ ध्यान दिनुपर्छ”, सांसद दाहालले भन्नुभयो । प्रकोपको जोखिम न्यूनीकरणका लागि स्थायी समाधान खोज्न पहल गर्नुपर्ने उहाँहरुले सुझाव दिनुभयो ।
सांसद जगप्रसाद शर्माले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गरेर तत्काल सार्वजनिक यातायात सञ्चालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसलाई व्यावहारिक कार्यान्वयनका लागि आह्वान गर्दै यस दिन सार्वजनिक बिदाको व्यवस्था गर्न समेत माग गर्नुभयो ।
सांसद सुमित्रा बिसीले यातायात व्यवसायीको आन्दोलनका कारण यात्रु ‘राइड सेयरिङ’ सेवा प्रयोग गर्दा ठगीमा परेको भन्दै अनुगमन बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
सांसद गोपीबहादुर सार्की आछामीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले उपलब्ध गराउँदै आएको सेवासुविधा खारेजको सुझाव दिनुभयो । “दरबार हत्याकाण्डको आजसम्म छानबिन भएको छैन, छानबिन हुनुपर्छ,” उहाँले भन्नुभयो ।