काठमाडौँ, जेठ २० गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले साझा सोच, सङ्कल्प, र जिम्मेवारीबाट नै दिगो सामुदायिक वन व्यवस्थापन सम्भव हुने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको नवौँ परिषद्को उद्घाटन समारोहमा मन्त्री शाहीले सामूहिक सङ्कल्प, समुदायको लगनशीलता, र स्थानीय नेतृत्वको सक्रियताले नै सामुदायिक वन व्यवस्थापनलाई प्रभावकारी बनाएको उल्लेख गर्नुभयो ।
मन्त्री शाहीले भन्नुभयो, “अब समय आएको छ, जहाँ हामी सामुदायिक वन व्यवस्थापनलाई नवीन सोच, प्रविधि, र दिगोपनको रणनीतिमा रुपान्तरण गर्न सक्छौँ । जहाँ वन पैदावारमा आधारित उद्यम विकास, बजार पहुँच र मूल्य श्रृङ्खला विस्तारमार्फत ग्रामीण क्षेत्रमा नयाँ रोजगारीका अवसर, स्थानीय आम्दानीको वृद्धी, र सामाजिक रूपान्तरण सम्भव छ ।”
सामुदायिक वनले दिने पारिस्थितिकीय सेवा पानी स्रोत संरक्षण, माटो संरक्षण, कार्बन भण्डारण आदिले केवल स्थानीय जीवनशैली मात्र होइन, वैश्विक जलवायु सन्तुलनमा पनि योगदान दिएको मन्त्री शाहीले उल्लेख गर्नुभयो । रेड प्लसजस्ता अन्तरराष्ट्रिय पहलमा सामुदायिक वन समूहको सहभागिता, कार्बन लाभ बाडफाँट र वातावरणीय न्यायका मुद्दा अब अग्रपङ्क्तिमा रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनलाई हरित अर्थतन्त्रको मेरुदण्ड, दिगो विकासको रणनीतिक हिस्सा, र गौरवशाली नागरिक अभियानको रूपमा अघि बढाउन आफू कटिबद्ध रहेको उल्लेख गर्नुभयो । महासङ्घका पूर्वअध्यक्ष हरिप्रसाद न्यौपाने, गणेश कार्की, घनश्याम पाण्डे, भारती पाठकलगायतले सामुदायिक वन व्यवस्थापनलाई संरक्षणमुखी दृष्टिकोणबाट मात्र नभई स्थानीय आवश्यकता, जीविकोपार्जन, र राष्ट्रियस्तरको उत्पादन सन्तुलन कायम राख्ने दिगो वन व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।