पर्वत, जेठ १८ गते । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ । कुश्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा निर्माण गरिएका घण्टाघरले पूर्णता पाउनसमेत सकेको छैन। नगरपालिकाको रु ८० लाख लागतमा निर्माण घण्टाघरलाई साँचो लगाएर राखिएको छ भने बाहिरी संरचना जीर्ण बन्दै जान थालेका छन् ।
स्थानीयवासी व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षण गर्न बनाइएको घण्टाघर प्रयोगहीन भएकोे बताउनुभयो । घण्टाघर वरिपरिका घरभन्दा पनि होचो संरचना बनाईएको छ । आर्थिक वर्ष २०७७÷७८ को बजेटबाट निर्माण सुरु भएको उक्त संरचना बनाउनुभन्दा पहिलादेखि नै विवादित हुँदै आएको थियो ।
कुश्मा –५ का वडाध्यक्ष रामहरि चापागाईँले अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले निर्माण गरेको हुँदा सबै जानकारी नभएको बताउनुभयो । दुई वर्ष अगाडि नै निर्माण सम्पन्न भएको भए पनि टावरमा ताला लगाएर राखिएको उहाँको भनाइ छ ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीे आगामी वर्षको बजेटबाट घण्टाघरलाई पूर्णता दिने जानकारी दिनुभयो । उपप्रमुख स्वस्थानी रिजालले नगरभित्र निर्माण भएका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउने दायित्व नगरको भएकाले समयमा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
घण्टाघर सञ्चालनका लागि नयाँ कुनै योजना नभएकाले कसरी सञ्चालन गर्ने भन्नेमा कुनै छलफलसमेत नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार घण्टाघरको निर्माण सम्पन्न भएर गत वर्ष नै भुक्तानी भइसकेको र त्यसमा प्रयोग हुने घडी नेपालमा नपाइने भएकाले उपयोग गर्न नसकिएको दाबी गर्नुभयो ।
साहसिक पर्यटनको हब बन्दै गएको कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जि र विश्वकै लामो सुपरम्यान शैलीको जीपलाइन नजिकै रहेको उक्त घण्टाघरलाई समयमै पूर्णता दिन सकेमा पर्यटकको आकर्षण बढ्ने स्थानीय शिशिर पौडेलले बताउनुभयो ।