जनकपुरधाम, जेठ ८ गते । मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी न्यून भएकाले पठनपाठनमा समस्या हुँदै आएको बताउनुभएको छ । मधेस प्रदेशको शिक्षासम्बन्धी प्रदेशस्तरीय कार्ययोजना तर्जुमा गोष्ठीको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारले मधेस प्रदेशअन्तर्गतका विद्यालयमा तोकिएको विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा गुणस्तरीय शिक्षाको विकासमा समस्या भएको उल्लेख गर्नुभयो ।
“हामीले पटकपटक विद्यार्थी अनुपातमा शिक्षक तोक्नुपर्ने माग गर्दै आएका छौँ, तर सो अधिकार सङ्घीय सरकारसँग रहकाले शिक्षा क्षेत्रमा देखिएका यस्ता समस्या समाधान गरी गुणस्तरीय शिक्षा र विद्यार्थी उत्पादनमा जोड दिनुपर्छ”, मन्त्री तिवारीले भन्नुभयो ।
शिक्षकको समस्या समाधानका लागि मन्त्रालयले स्वयंसेवक शिक्षक बहालीको माग गरेसँगै केही हदसम्म समस्या समाधनतर्फ गएको जनाउँदै उहाँले मधेस प्रदेशमा शिक्षा क्षेत्रको विकास तथा सुधारका लागि विनियोजित बजेट खर्च हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
मन्त्रालयको चालु आर्थिक वर्षमा रु दुई अर्ब ३२ करोड बजेट रहेको जनाउँदै तिवारीले शिक्षक अभावका कारण खर्च हुन नसकेको उल्लेख गर्नुभयो । प्रदेश सरकार शिक्षासँग सम्बन्धित १८ वटा कार्यविधि पारित गरेर यस क्षेत्रको समग्र विकासमा लागेको स्पष्ट गर्नुभयो ।
धनुषाको मुखियापटी मुसरनीया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले पालिकाभित्र रहेका १३ वटा विद्यालययको भवन निमार्ण र पूर्वाधार विकासमा रु २४ करोड बजेट विनियोजन गरेर कार्य गरिरहेको जानकारी दिनुभयो । “छात्रछात्राका लागि निःशुल्क बससेवा, नास्ता तथा पोसाक र निःशुल्क पुस्तकको व्यवस्था गरेका छौँ । शिक्षकको कमीका कारण पठनपाठनमा भने समस्या भइरहेको छ”, उहाँले भन्नुभयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ९एनसिई०का केन्द्रीय अध्यक्ष राजेन्द्र पहाडीले संस्थाले गुणस्तरीय, प्रविधियुक्त वैज्ञानिक तथा दीर्घकालीन शिक्षाको विकासमा जोड दिएको बताउँदै न्यायपूर्ण समाज विकासमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले एनसिई मधेस प्रदेशको सात जिल्लामा शिक्षा सुधारका पक्षमा काम गर्दै आएको बताउनुभयो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा पिपल इन निड, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ९एनसिई० तथा नेपाल अपाङ्ग महिला सङ्घद्वारा आयोजित गोष्ठीमा मधेस प्रदेशको शिक्षाको अवस्थाबारे जानकारी गराइएको थियो ।
एनसिईका प्रदेश संयोजक लक्ष्मेश्वर मण्डलको अध्यक्षतामा भएको उक्त गोष्ठीमा एनसिई धनुषा संयोजक कमलेश मण्डल, पिपुल इन निडका संयोजक सुशिल साह र शिक्षा तथा संस्कृति मन्त्रालयका अधिकृत दिलीप मुखियाले मधेस प्रदेशमा शिक्षाको अवस्था, समस्या र चुनौतीका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।







