काठमाडौँ जेठ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गर्नुभएको छ ।बालुलाटारस्थित प्रधानमन्त्री निवासमा विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको हो ।

भेटका अवसरमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकतालगायत विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर उकास्नक बैंकले गर्दै आएको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्दै उचित राजस्व परिचालन र विकासका खर्चका लागि प्रभावकारी व्यवस्थापन सरकरको प्राथमिकता रहेको सुनाउनुभयो ।

उहाँले उत्पादन र उत्पादकत्ववृद्धिका लागि थालेका काम सक्ने नति अनुुरुप आगामी बजेटबाट समयमा परियोजनाहरू सम्पन्न गर्नेगरी प्रबन्ध गरिने अवगत गराउनुभयो ।

उपाध्यक्ष रायसरले बैँकको सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दै वातावरणीय मुद्दामा प्राथमिकता दिएर नेपालले सगरमाथा संवादको आयोजना गरेकामा सफलताको कामना गर्नुभयो ।

बैँकले नेपालमा यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत १९ क्षेत्रमा गरी दुुई मिलियन अमेरिकी डलरको लगानी गरेको छ । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाल रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, बैंकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागी हुनुहुन्थ्यो ।